काठमाडौं । नेपाल प्रहरीका एआईजी दानबहादुर कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरिष्ठतम एआईजी कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्दै नियुक्त गर्ने निर्णय गरेको हो।
वरियताको आधारमा बढुवा गरिएको यो निर्णयलाई प्रहरी संगठनमा थिति बसाल्ने कदमको रूपमा लिइएको छ। विगतका राजनीतिक सरकारहरूले प्रहरी नेतृत्वमा लेनदेन र भागबन्डा गर्ने प्रथालाई यस पटक अन्त्य गरेको गरेको छ। कार्कीले कात्तिक २७ गतेबाट ७९ हजारभन्दा बढिको जनशक्तिको प्रहरी कमाण्डको नेतृत्व गर्नेछन् ।
एआईजी कार्कीको जन्म रुकुम पश्चिमको मालिका गाउँपालिका–७ घमिरमा १५ साउन २०२९ मा पिता कृष्णबहादुर र माता चन्द्रकुमारी हुन् । परिवारकै अनुशासन र मेहनतका मूल्यबाट प्रेरित कार्कीले जीवनभर कर्तव्यपरायणताको भावना आत्मसात् गरे।
शिक्षाका क्षेत्रमा पनि उनी उत्कृष्ट रहेका कार्कीले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षाशास्त्रमा स्नातक, कानून संकायमा स्नातक, र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
कार्कीले आगामी १७ चैत २०८४ सम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। २४ भदौमा जेनजी आन्दोलन हुँदा उनले उपत्यका सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।
उनी उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभागका प्रमुख थिए। डीआईजीको पदमा रहँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड, र एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए, जस क्रममा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।
कुनै ठूलो आर्थिक विवादमा नपरेका कार्कीले फिल्डदेखि आईजीपी सचिवालयसम्म विविध जिम्मेवारी सम्हाल्दै काम गरेको अनुभव राख्छन्। विदेशमा विभिन्न व्यावसायिक तालिम लिइसकेका उनी एक समय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका थिए।
साथै, प्रहरी नेतृत्वप्रति सडक सुरक्षा र जनसेवामा सुधार ल्याउन आग्रह गरिएको छ। ट्राफिक व्यवस्थापनमा अनावश्यक हस्तक्षेप र सवारी साधनलाई किलोमिटरपिच्छे रोक्ने चलन रोक्नुपर्ने सुझाव दिइएको छ। सडकमा अनावश्यक ब्यारियर, टायर वा अवरोध राखेर गाडी रोकिने प्रवृत्तिले सडक कुरूप र यात्रु असहज बनाएको यसमा कार्की ध्यानदिन सरोकारबालाले सुझाव दिएका छन् ।
सवारी चालक र ट्राफिक प्रहरीबीचको व्यवहारमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै, प्रहरी–जनता सम्बन्ध सुमधुर बनाउन आईजीपी कार्कीले प्रभावकारी सुधारात्मक पहल गर्ने अपेक्षा गरिएको छ।