ई-आर्थिक, झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ करोड आठ लाख रुपैयाँले (करिब ९ प्रतिशत) बढी भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार, अघिल्लो आव २०८१/८२ को पहिलो दुई महिनामा सो नाकाबाट रु ७ अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो।
यता, चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सो नाकाबाट निर्यातमा भने उल्लेख्य गिरावट देखिएको छ। दुई महिनाको अवधिमा रु ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुकहरूमा निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा यो आँकडा रु ३ अर्ब ८६ करोड २८ लाख रहेको थियो। यसरी निर्यातमा २०.६९ प्रतिशतको गिरावट आएको हो।
सूचना अधिकारी हुमागाईंका अनुसार, निर्यात हुने प्रमुख वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्। त्यसैगरी, आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन तथा तयारी कपडाजस्ता सामग्रीहरू छन्।
आयात र निर्यात दुबै प्रक्रियाबाट चालु आवको पहिलो दुई महिनामा रु २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशत (रु २० करोड ८६ लाख ९ हजार) ले बढी हो।
मेची भन्सार कार्यालयका अनुसार पूर्वी नाकाबाट हुने व्यापारिक गतिविधिमा निर्याततर्फ घट्दो प्रवृत्ति देखिए पनि आयात र राजस्व संकलनमा भने सकारात्मक वृद्धि देखिएको छ।