२०८३ भाद्र २८ आइतबार

कोरला नाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व संकलन

ई आर्थिक    आइतबार, भाद्र २८ २०८३
228
Shares
कोरला नाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व संकलन

मुस्ताङ ।  नेपाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने मालवस्तुको पैठारी कोरलानाकातर्फ बढेको हो। तातोपानी नाका पनि बन्द रहेकाले कोरलानाका पछिल्लो समय वैकल्पिक व्यापारिक नाकाका रूपमा सक्रिय भएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी उल्लेख्य रूपमा बढेको छ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ २२ गतेपछि दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भइरहेको प्रमुख चुडालले बताए।

उनका अनुसार शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। जाँचपास भएका सवारीसाधन तथा मालवस्तु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको प्रमुख चुडालले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट मात्रै दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए।

भदौ ९ गतेसम्म कोरलानाका हुँदै १३३ वटा कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। त्यसयता नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला रहेको कोरलानाका तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij