ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा घरजग्गाको कारोबार र कित्ताकाटमा उल्लेखनीय गिरावट आएको छ। तर, यसबाट संकलन हुने राजस्व भने थोरै वृद्धि भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार भदौमा १८ हजार ६७२ कित्ता काटेर ३७ हजार ५५३ कित्तामा विभाजन गरिएको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ३८ प्रतिशतले कम हो।
त्यसैगरी, सो महिनामा २७ हजार ४९४ पटक मात्र लिखत पास भएको छ, जुन गत वर्षको भदौमा ३२ हजार ७९८ पटक थियो। कुल कारोबार संख्या पनि घटेर १ लाख २ हजार ९७१ मा झरेको छ, जुन गत वर्ष १ लाख १५ हजार ६४२ थियो।
कित्ताकाट र कारोबार दुबै घटेपनि भदौमा संकलित राजस्व भने ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको भदौको तुलनामा करिब ५ करोड रुपैयाँ बढी हो।
सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यालय लगनखेल रहेको छ, जसले एक महिनामै ३५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
त्यसपछि भक्तपुर, चावहिल, डिल्लीबजार, कलंकी, कास्की, साँखु, मनमैजु, इनरुवा र चितवन मालपोत कार्यालय क्रमशः धेरै राजस्व संकलन गर्ने शीर्ष दसमा परेका छन्।
यसअघि साउन महिनामा पनि कारोबार र राजस्व दुबैमा गिरावट आएको थियो। साउनमा कित्ताकाट ५२ प्रतिशतले र कारोबार १८ प्रतिशतले घटेको विभागको तथ्याङ्कमा उल्लेख छ।