ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ मा नेपालले कुल वस्तु निर्यातमा ८१.८ प्रतिशतले उल्लेखनीय वृद्धि गरी रु. २७७ अर्ब ३ करोड पुर्याएको छ। अघिल्लो वर्ष निर्यातमा ३ प्रतिशतको गिरावट आएको थियो।
मुख्य निर्यात गन्तव्य भारततर्फ निर्यात ११७.८ प्रतिशतले वृद्धि भएतापनि चीन र अन्य मुलुकहरूमा क्रमशः १.६ र ६.७ प्रतिशतले निर्यात बढेको छ। निर्यात भएका वस्तुहरूमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता र चप्पल उल्लेखनीय वृद्धि भएका छन्। तर, पाम तेल, जिङ्क सिट, जुस, अदुवा र तयारी पोसाकको निर्यात भने घटेको छ।
उता, आर्थिक वर्षमा कुल वस्तु आयातमा १३.३ प्रतिशत वृद्धि भई रु. १८०४ अर्ब १२ करोड पुगेको छ। भारत, चीन र अन्य मुलुकबाट क्रमशः ७.५, १४.२ र ३१.७ प्रतिशतले आयात बढेको छ।
आयात भएका वस्तुहरूमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारी साधन, चामल, खाने तेल र स्पन्ज आइरन वृद्धि भएका छन्, भने पेट्रोलियम पदार्थ, हवाइजहाजका स्पेयर पार्ट, सुन, रासायनिक मल र विद्युतीय उपकरणको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज लगायतका प्रमुख नाकाबाट निर्यातमा कमी देखिएको छ भने आयातमा जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका नाकाबाट वृद्धि भएको छ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा ६ प्रतिशतले बढेर रु. १५२७ अर्ब ९ करोड पुगेको छ। निर्यात–आयात अनुपात १५.४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.६ प्रतिशतभन्दा माथि हो।
विशेष रूपमा, भारतबाट विदेशी मुद्रा भुक्तानी गरेर रु. १८१ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको भन्दा बढी हो।