२०८३ साउन ९ शनिबार

मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथोपटक म्याद थप, असोज २५ सम्म काम सक्ने तयारी

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
4.7K
Shares
मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथोपटक म्याद थप, असोज २५ सम्म काम सक्ने तयारी

ई-आर्थिक, तनहुँ ।   मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा निर्माणको काम समयमै नसकिँदा चौथो पटक म्याद थपिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको सडक विस्तारको कामका लागि असोज २५ गतेसम्म म्याद थप गरेको हो।

पूर्वी खण्डअन्तर्गतको यो ४१.५ किलोमिटर सडक खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको भए पनि केही साना काम बाँकी रहेकाले म्याद थप गरिएको हो। मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पछिल्लो पटक म्याद असार २९ गते सकिएको थियो। त्यसपछि बाँकी काम सम्पन्न गर्न थप समय आवश्यक परेपछि मन्त्रालयमा सिफारिस गरिएको थियो।

इन्जिनियर पाण्डेका अनुसार दमौली बजार क्षेत्रमा छ लेन र अन्य खण्डहरूमा चार लेनको सडक कालोपत्र गरिएको छ। अधिकांश स्थानमा सडक रङरोगनको काम पनि सम्पन्न भइसकेको छ। “अब थोरै मात्र काम बाँकी छ, त्यसैले केही समयको लागि मात्रै म्याद थप गरिएको हो,” उहाँले बताउनुभयो।

पूर्वी खण्डको सम्झौता सन् २०२१ को जनवरी (वि.सं. २०७७ माघ १७) मा भएको हो भने निर्माण कार्य २०७८ साल वैशाख २ गतेदेखि सुरु भएको थियो। सम्झौताअनुसार तीन वर्ष र थप ४५६ दिनमा कालोपत्रको काम सम्पन्न गरिएको जनाइएको छ।

यो आयोजना एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा अघि बढाइएको हो। सडकमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै चार लेनमा स्तरोन्नति गरिएको हो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी (CCCC) ले पाएको हो। कुल लागत छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij