ई-आर्थिक, कैलाली । बजेट अभावका कारण हुलाकी सडक आयोजनाअन्तर्गत सुदूरपश्चिममा निर्माणाधीन पाँचवटा पुलको काममा ढिलाइ भएको छ। हुलाकी सडक आयोजना कार्यालय, धनगढीका अनुसार कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको ती पुलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको छैन।
कैलालीको धनगढी उपमहानगरपालिका–१ र २ तथा वडा नं १ र ८ जोड्ने खोलामा निर्माण भइरहेको दुईवटा पुलमध्ये हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। दुवै पुल २५/२५ मिटर लम्बाइका हुन्।
यी पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते मालिका निर्माण सेवा प्रालिसँग ८ करोड २३ लाख ७३ हजार रुपैयाँमा सम्झौता भएको थियो। सुरुमा निर्माण कम्पनीको ढिलासु कार्यशैली र पछिल्ला वर्षमा बजेट अभाव मुख्य कारण बनेको आयोजनाले जनाएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित डोङ्डा नदीमा निर्माण भइरहेको अर्को पुलको प्रगति पनि अत्यन्तै सुस्त छ। २०७९ असार ५ गते ३३ करोड ५५ लाख ३३ हजार रुपैयाँको लागतमा शान्ति निर्माण सेवा प्रालिसँग सम्झौता भएको सो पुल २०८२ पुसमा सम्पन्न हुने लक्ष्य रहेको थियो। तर हालसम्म दुई पिलर मात्रै निर्माण भइसकेको छ र जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
त्यसैगरी, कञ्चनपुरकै बेलौरी–दैजी खण्डमा पर्ने टिसिएन खोलामा बनिरहेको आरसीसी बक्स कल्भर्टको ९० प्रतिशत काम सकिएको छ। यो ठेक्का २०८० वैशाख १७ गते तीन करोड १२ लाख ६९ हजार रुपैयाँमा मालिका निर्माण सेवाले लिएको थियो।
अर्को आरसीसी बक्स कल्भर्ट कञ्चनपुरकै अम्खोइया खोलामा निर्माण भइरहेको छ। यसको ठेक्का २०८० साउन १ गते नीरज भौनेली श्रीयाज जेभीसँग तीन करोड २७ लाख ७६ हजार रुपैयाँमा गरिएको हो। हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ। तर यो ठेक्काको सुरु म्याद २०८१ असोज ३० गते सकिइसकेको छ।
निर्माणाधीन सबै पुलहरूका लागि म्याद थप गरिएको भए पनि त्यसको अवधि पनि २०८२ असारमै सकिएको आयोजनाका इन्जिनियर रमेश पन्तले जानकारी दिए।