२०८३ असोज ३ शनिबार

एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

ई आर्थिक    बुधबार, चैत्र २० २०८१
5.2K
Shares
एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

ई-आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताका लागि एटिएम कार्ड बिना नै एटिएमबाट रकम निकाल्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

अब मुलुकभर फैलिएका ६७० वटा एनआईसी एशिया बैंकका एटिएमहरुमार्फत इसेवा वालेटमा रहेको रकम सहज रूपमा झिक्न सकिने भएको छ । यो सेवा डिजिटल कारोबारलाई अझ सरल र सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको बैंकले जनाएको छ ।

यस सेवाका लागि प्रयोगकर्ताले आफ्नो इसेवा एपमार्फत ‘Withdraw Fund’अप्सनमा गएर ‘NIC ASIA Bank’ चयन गर्नुपर्नेछ । त्यसपछि रु। १००० देखि रु. ५००० सम्मका पूर्वनिर्धारित विकल्पमध्ये रकम छनौट गरी रिमार्क राखेर अगाडि बढ्नुपर्छ । पिन नम्बर राखेपछि प्रयोगकर्ताको मोबाइलमा एक ‘eToken Code’ प्राप्त हुनेछ ।

उक्त कोड लिएर प्रयोगकर्ताले एनआईसी एशिया बैंकको एटिएममा गएर ‘Cardless Withdrawal’अप्सनमा प्रवेश गर्नुपर्नेछ । त्यहाँ ‘eSewa’ विकल्प छान्दै मोबाइलमा प्राप्त ‘eToken Code’ राखेपछि प्रयोगकर्ताले आफूले तोकेको रकम प्राप्त गर्न सक्नेछन् ।

यो सेवाबाट प्रयोगकर्ताले दैनिक अधिकतम ५ पटकसम्म कारोबार गर्न सक्नेछन्, जसमा प्रति कारोबार ५ हजार रुपैयाँसम्म निकाल्न मिल्नेछ । मासिक रुपमा ५० कारोबारसम्म तथा कुल २५ हजार रुपैयाँसम्मको रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij