काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा ‘पेमेन्ट पार्टनर बैंक’का रूपमा सहकार्य गर्ने भएको छ।
साझा यातायात सहकारी संस्था लिमिटेडले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने योजनाअन्तर्गत बैंकसँग सहकार्य गरेको हो।
सहकार्यअन्तर्गत साझा बसमा यात्रुको टिकट जारी गर्न नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका पीओएस मेसिन प्रयोग गरिनेछ। यसबाट यात्रुले कार्ड तथा अन्य डिजिटल माध्यम प्रयोग गरी सहज र सुरक्षित रूपमा बस भाडा तिर्न सक्ने व्यवस्था विकास गरिने जनाइएको छ।
साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमान्ड एन्ड कन्ट्रोल सेन्टरसहित प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल टिकटिङ प्रणालीमार्फत नगदरहित यात्रालाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। प्रणालीमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने तयारी छ।
बैंकले आफ्नो डिजिटल भुक्तानी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुलाई थप सहज भुक्तानी अनुभव उपलब्ध गराउन सहयोग गर्नेछ। सहकार्यबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबार प्रवर्द्धन, भुक्तानी प्रक्रियामा पारदर्शिता तथा यात्रु सेवाको आधुनिकीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।