२०८३ साउन ९ शनिबार

उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध

ई आर्थिक    बुधबार, चैत्र २८ २०८०
5.5K
Shares
उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई बुधबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताउनुभयो ।

सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।”

लगानी र रोजगारी सिर्जना गर्न एवम् उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राज्यका तिनै तहका सरकारहरूले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताउनुभयो ।

सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्राउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।”

सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवम् प्रतिबद्धताबमोजिम लगानी भित्राउन महत्त्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद् कुरा भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।”

परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव छैन भन्ने यथार्थ आत्मसात गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिनुभयो ।

“सरकारले असीमित आकाङ्क्षा र सीमित साधनस्रोतका बिच पनि वैज्ञानिक नीति–कार्यक्रम र बजेट तर्जुमा गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसलाई मैले आर्थिक क्षेत्रमा नयाँ क्रमभङ्गको एउटा महत्त्वपूर्ण आधारविन्दु मानेको छु ।”

परम्परागत सोंच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य उद्योगमा जोड लगाउनुपर्नेमा जोड दिनुभयो ।

“आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौँ, अहिले हामी आफैले भोगिरहेका छौँ । यसपटक यो समस्यालाई सम्बोधन गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक

blog

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगीकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश औद्योगिकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताउनुभयो । विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताउनुभयो ।

‘‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभूत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योगधन्दालाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योगधन्दाहरु भनेको के हो ? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ ।,’’ नेकपा एसका सम्मानित नेता खनालले भन्नुभयो, ‘‘बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन् । हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’’

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल सङ्कटग्रस्त बनेको बताउनुभयो । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने जानकारी दिनुभयो । उहाँले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताउनुभयो ।

‘निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन’

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताउनु भयो ।

उहाँले सरकारले बनाउने ऐन, कानुनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने जानकारी दिनुभयो । उहाँले ऐन, कानुन लगानीमैत्री नभए जति सुकै ठुलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गर्नुभयो ।

उहाँले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बतउनु भयो । उहाँले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताउनु भयो ।

‘‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानुन बन्दैन र सरकारमा बस्नेहरुको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन । त्यस कारण सरकारले बनाउने ऐन, कानुनहरु निजी क्षेत्रमैत्री हुनुपर्छ ।,’’ अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘तपाईले जतिसुकै ठूलो लागनी सम्मेलन गर्नुस् न, तपाईको ऐन, कानुन लगानीमैत्री छैन भने कसले लगानी गर्छ ? अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन भए की भएनन् ? त्यसबाट हेर्नुस् । देश लगानीको लागि तयार छ की छैन । त्यो कुरामा टुङ्गोमा पुग्नुपर्छ । आज निजी क्षेत्रको मनोबल खस्किँदो छ । सबैले हेप्ने क्षेत्र भनेकै निजी क्षेत्र बनेको छ ।’’

उहाँले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा सङ्कल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गर्नुभयो ।

स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।

उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए ।

उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५÷४० प्रतिशतसम्म पु¥याउने र सेवा क्षेत्रलाई ५०÷५५ प्रतिशतमा पु¥याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको जानकारी गरे ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij