धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
सडक खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।
राजमार्ग अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। सडक खुलाउने काम जारी रहेकाले प्रहरीले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।