२०८३ साउन २० बुधबार

नारायणघाट–बुटवल सडक विस्तार अन्तिम चरणमा, अधिकांश काम सम्पन्न

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
551
Shares
नारायणघाट–बुटवल सडक विस्तार अन्तिम चरणमा, अधिकांश काम सम्पन्न

काठमाडौं ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ। बजार क्षेत्रका २८ किलोमिटर सडकलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गर्दै निर्माण कार्य अन्तिम अवस्थामा पुगेको हो।

झन्डै २० अर्ब रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार विभिन्न चुनौतीका बाबजुद आयोजना सफलतापूर्वक अन्तिम चरणमा पुगेको हो। उनका अनुसार अन्तरनिकाय समन्वयमा देखिएको समस्या, निर्माण व्यवसायीको नगद प्रवाह व्यवस्थापनमा आएको कठिनाइ तथा निर्धारित खर्चअनुसार शोधभर्ना हुन नसक्दा निर्माण कार्य अपेक्षाभन्दा केही ढिलो भएको थियो।

आयोजनाको प्रारम्भिक चरणमा कोभिड–१९ महामारी, रुख कटान प्रक्रियामा भएको ढिलाइ तथा निर्माण कम्पनीले पर्याप्त स्रोत–साधन परिचालन गर्न नसक्दा काम प्रभावित भएको थियो। वित्तीय समस्या समाधान गर्न सरकारका तर्फबाट कूटनीतिक पहलसमेत गरिएपछि निर्माण कम्पनीले आवश्यक स्रोत जुटाउँदै कामलाई तीव्रता दिएको निर्देशक ढकालले बताए।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले २०७५ चैत ८ गतेदेखि निर्माण सुरु गरेको यो आयोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सडकलाई ६५ किलोमिटरको नारायणघाट–दाउन्ने (पूर्वी खण्ड) र ४९ किलोमिटरको दाउन्ने–बुटवल (पश्चिमी खण्ड) गरी दुई भागमा विभाजन गरिएको छ।

निर्देशक ढकालले काठमाडौं–नारायणघाट–बुटवल सडक नेपालका लागि अत्यन्तै महत्वपूर्ण ‘लाइफलाइन’ भएकाले कुनै पनि हालतमा निर्माण सम्पन्न गर्नुपर्ने स्पष्ट सन्देश सबै पक्षलाई दिइएको बताए। त्यसपछि निर्माण कम्पनीले आफ्नो मुख्य कार्यालयबाट आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै निर्माणलाई गति दिएको उनले जानकारी दिए।

उनका अनुसार आयोजनाका क्रममा देखिएका प्राविधिक, प्रशासनिक तथा वित्तीय समस्याको पहिचान गरी क्रमशः समाधान गरिएकाले अहिले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ। आयोजना सम्पन्न भएपछि काठमाडौं र पश्चिम नेपालबीचको यात्रा सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij