चितवन । चितवनको नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत खहरे खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान करिब ८:३० बजे खसेको पहिरो पन्छाएर दिउँसो १:१५ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। तर, दिउँसो २:५० बजे पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार करिब ४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको हो। पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरिएको छ। पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
पहिरो खसेसँगै दुवैतर्फ सवारीसाधन रोकिएका छन्। सडक खुलाउन डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।
काठमाडौंलाई देशका विभिन्न क्षेत्रसँग जोड्ने प्रमुख लाइफलाइन मानिने नारायणघाट–मुग्लिन सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्। पटक–पटक पहिरो खस्दा यात्रुहरू सास्तीमा परेका छन् भने यातायात सेवा पनि प्रभावित भएको छ।