२०८३ भाद्र २५ बिहिबार

भदौभित्रै कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
494
Shares
भदौभित्रै कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडकलाई भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र बनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने प्रतिबद्धता जनाएपछि सोहीअनुसार निर्माण कार्य अघि बढाइएको हो।

कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माणस्थलमा सशस्त्र प्रहरी बल, नेपालले फ्लडलाइट जडान गरेपछि रातको समयमा समेत काम भइरहेको छ। दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य सञ्चालन भइरहेको जनाइएको छ।

नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै क्षेत्रमा समेत काम तीव्र पारिएको छ। साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा खसेका पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने काम पनि समानान्तर रूपमा भइरहेको छ।

बाढीका कारण यही गत भदौ १० गते कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीका कारण सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री तथा पूर्वाधारमन्त्रीबीच सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो।

त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका साथ अघि बढाउने सुझाव दिइएको थियो।

सरकारले निर्माण कार्यलाई तीव्रता दिँदै भदौको अन्तिमसम्ममा कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। नयाँ ट्रयाक निर्माण र पहिरो रोकथामको काम सम्पन्न भएपछि पृथ्वी राजमार्गमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij