नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रको यातायात सम्पर्क पुनः सञ्चालनमा आएको छ ।
नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको हो। सेनाको टोलीले निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य पूरा गरेको जनाएको छ।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
यसअघि भोटेकोशी नदीमा आएको बाढीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। पुल नहुँदा स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा ठूलो समस्या भएको थियो।

नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि लामो समयदेखि यातायात समस्यामा परेका स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई राहत मिल्ने भएको छ।
पुल सञ्चालनमा आएपछि नुवाकोट र आसपासका क्षेत्रमा रोकिएको यातायात तथा दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।