काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्ति, सरुवा, नीतिगत स्वीकृति तथा कानुनी संशोधनसँग सम्बन्धित विभिन्न १० वटा महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा कैलालीका हिक्मतबहादुर रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरिएको छ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको सामुद्रिक कानुन महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।
गृह मन्त्रालयको प्रस्तावअनुसार नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ। त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयकै प्रस्तावमा मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको छ।
बैठकले सामाजिक तथा प्रशासनिक सुधारसँग सम्बन्धित विभिन्न नीति तथा नियमावली पनि स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गरिएको छ।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा ‘शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३’, ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।