खोटाङ : आठ वर्षदेखि सिँचाइ अभावमा बाँझिएको खोटाङको भाट्बेँसी क्षेत्रका करिब २ सय रोपनी खेतमा पुनः पानी पुगेपछि स्थानीय किसानमा खुसी छाएको छ। सडक निर्माणका क्रममा बिग्रिएको बाँझगरा कुलो पुनर्निर्माण भएपछि वर्षौँदेखि रोकिएको कृषि उत्पादन फेरि सुरु हुने विश्वास किसानहरूले गरेका छन्।
२०७५ सालमा हलेसी–धितुङ–भाट्बेँसी–रेग्मीटार सडक निर्माणका क्रममा लैकु खोला मुहान भएको बाँझगरा कुलो क्षतिग्रस्त बनेपछि भाट्बेँसीका करिब दुई सय रोपनी खेत सिँचाइविहीन भएका थिए। वर्षमा तीन बाली फल्ने खेतमा त्यसयता आकाशे पानीको भरमा मकै मात्रै लगाउनुपर्ने अवस्था थियो।
स्थानीय किसान गङ्गाबहादुर बुढाथोकीका अनुसार यस वर्ष कुलोबाट सिँचाइ भएको खेतको मकै र सिँचाइ नपुगेको खेतको मकैबीच स्पष्ट अन्तर देखिएको छ। भाट्बेँसीमा नियमित खडेरी पर्ने भएकाले सिँचाइबिना उत्पादन निकै घटेको उहाँले बताउनुभयो।
सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझिन थालेपछि पाँच परिवार गाउँ छाडेर बसाइँ सरिसकेका छन्। स्थानीय कृष्णकुमारी भट्टराईका अनुसार उनीहरूको परिवार पनि बसाइँ जाने तयारीमा थियो। “कुलो बनेर पानी आएपछि गाउँ छाड्ने सोच हटेको छ,” उहाँले भन्नुभयो।
२८ लाख रुपैयाँको लागतमा कुलो पुनर्निर्माण
करिब तीन किलोमिटर टाढाको लैकु खोला मुहानबाट भीर क्षेत्रमा पाइप र सहज स्थानमा आरसिसी ढलानमार्फत पानी खेतसम्म पुर्याइएको हो।
बाँझगरा सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर सुवेदीका अनुसार अघिल्लो वर्ष विपद् कोषबाट करिब २७० मिटर पाइप जडान गरिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खोटाङ मार्फत विनियोजन गरिएको २८ लाख रुपैयाँ बजेटबाट थप ९०० मिटर पाइप बिछ्याइएको र करिब २४५ मिटर आरसिसी ढलान निर्माण गरी पानी खेतसम्म पुर्याइएको हो।
डिभिजन प्रमुख डा. महेश यादवका अनुसार सुरुमा १५ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि योजना सम्पन्न गर्न थप दुई चरणमा १३ लाख रुपैयाँ उपलब्ध गराएर कुल बजेट २८ लाख रुपैयाँ पुर्याइएको थियो।
सडकले सुविधा दियो, कुलो बिग्रँदा खेती उजाडियो
भाट्बेँसी हुँदै सञ्चालनमा आएको हलेसी–धितुङ–भाट्बेँसी–रेग्मीटार सडकले गाउँमा यातायातको पहुँच पुर्याएको छ। २०७७ असोज २६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडकमार्फत अहिले दैनिक सवारी आवतजावत हुने गरेको छ। कृषिउपज बजारसम्म पुर्याउन सहज भए पनि उत्पादन गर्ने खेत भने वर्षौँसम्म बाँझै रहनुपरेको थियो।
स्थानीय भोजराज सुवेदीका अनुसार सडक निर्माणका क्रममा कुलोमाथिबाट झरेको ढुङ्गा–माटोले कुलो पुरिएको थियो। स्थानीयले पटक–पटक सम्बन्धित निकायमा गुनासो गरे पनि आठ वर्षपछि मात्रै समस्या समाधान भएको उहाँले बताउनुभयो।
अब फेरि उखुदेखि धानसम्म खेती गर्ने तयारी
भाट्बेँसी सुनकोसी किनारको उर्वर क्षेत्र मानिन्छ। तर २०८१ साल असोज १२ गते आएको बाढीले अन्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्याएपछि किसान थप समस्यामा परेका थिए।
कुलो पुनर्निर्माणसँगै अब धान, मकै, गहुँ, आलु, प्याज, लसुन र उखु खेती पुनः विस्तार गर्ने तयारी भइरहेको स्थानीयहरूले बताएका छन्। सिँचाइ अभावका कारण सुक्न थालेका आँप र केराका बोटसमेत अब पुनः हराभरा हुने अपेक्षा गरिएको छ।
राजापानीका वडाध्यक्ष अनिश कार्कीका अनुसार कोसी प्रदेश सरकारको सहयोगमा लामो समयदेखिको सिँचाइ समस्या समाधान भएको छ। उहाँले कुलो पुनर्निर्माणसँगै कृषि उत्पादन बढ्नुका साथै बसाइँसराइको प्रवृत्ति पनि रोकिने विश्वास व्यक्त गर्नुभयो।