२०८३ साउन ८ शुक्रबार

विद्युतीय दुर्घटनामा गम्भीर घाइते बालकलाई प्राधिकरणले १५.७१ लाख उपलब्ध गराउने

ई आर्थिक    बिहिबार, साउन ७ २०८३
228
Shares
विद्युतीय दुर्घटनामा गम्भीर घाइते बालकलाई प्राधिकरणले १५.७१ लाख उपलब्ध गराउने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बालक स्थानीय आमा समूहको भवनको छतमा खेलिरहेका बेला नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनले दुवै हात गुमाएका थिए।

नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपविनियम (१) बमोजिम औषधोपचार खर्च तथा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको जनाएको छ।

विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत तथा १० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति प्राधिकरण सञ्चालक समितिले स्वीकृत गर्ने व्यवस्था छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित परिवारलाई सहयोग गरिएको बताउँदै कुनै पनि रकमले मानवीय पीडाको पूर्ति गर्न नसक्ने उल्लेख गर्नुभयो। उहाँले यो सहयोगले पीडित परिवारको जीवनयापनमा केही राहत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

मन्त्री श्रेष्ठले बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था भइरहे पनि पछिल्ला दिनमा बढ्दै गएका विद्युतीय दुर्घटनालाई न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र नागरिक समाज दुवैले थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षति चिन्ताजनक रहेको उल्लेख गर्दै प्राधिकरणलाई विद्युत् संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, सुरक्षा सतर्कता तथा नागरिकमा जनचेतना र पूर्वसूचना कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

साथै, विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij