२०८३ साउन १० आइतबार

जेठमा घरजग्गा कारोबार खस्कियो, मालपोत राजस्व पनि घट्दो

ई आर्थिक    बुधबार, असार ३ २०८३
1.1K
Shares
जेठमा घरजग्गा कारोबार खस्कियो, मालपोत राजस्व पनि घट्दो

काठमाडौं । देशभर  घरजग्गा कारोबारमा पुनः सुस्तता देखिएको छ। विभागका अनुसार जेठ महिनामा देशभर सञ्चालनमा रहेका १३८ भूमि प्रशासन कार्यालयबाट ५४ हजार ७२४ वटा लिखत पारित भएका छन्। यस अवधिमा ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यो परिमाण अघिल्ला दुई महिना चैत र वैशाखको तुलनामा कम हो।

तथ्यांकअनुसार चैत महिनामा ५५ हजार ५३१ लिखत पारित हुँदा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व उठेको थियो भने वैशाखमा कारोबार अझ बढेर ५८ हजार ८८६ लिखत पारित भएका थिए। सो महिनामा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर जेठमा कारोबारसँगै राजस्व संकलनमा पनि गिरावट आएको देखिएको छ।

राजधानी केन्द्रित मालपोत कार्यालयहरूले भने राजस्व संकलनमा अग्रस्थान कायम राखेका छन्। ललितपुरस्थित लगनखेल भूमि प्रशासन कार्यालयले मात्रै जेठ महिनामा ५० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न मालपोत कार्यालयबाट कुल १ अर्ब ३५ करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको विभागले जनाएको छ।

भक्तपुर मालपोत कार्यालयले ४१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दा काठमाडौंका चाबहिल, डिल्लीबजार र टोखा मालपोत कार्यालयहरूले पनि उल्लेखनीय राजस्व संकलन गरेका छन्।

विभागका अनुसार सेवा कर, रजिस्ट्रेशन दस्तुर तथा पूँजीगत लाभकर राजस्वका प्रमुख स्रोत बनेका छन्। जेठ महिनामा सेवा करबाट २८ करोड ६६ लाख रुपैयाँ, रजिस्ट्रेशन दस्तुरबाट २ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ तथा पूँजीगत लाभकरबाट २ अर्ब १२ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

पछिल्ला महिनाका तथ्यांक हेर्दा फागुनमा ४ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने माघमा करिब ५ अर्ब रुपैयाँ राजस्व उठेको थियो। यसले घरजग्गा बजार अझै पूर्ण रूपमा चलायमान हुन नसकेको देखाउँछ।

अर्थतन्त्रमा अपेक्षित सुधार नआउँदा लगानीकर्ता तथा सर्वसाधारणको घरजग्गा क्षेत्रमा लगानी गर्ने उत्साह कमजोर बनेको विश्लेषण गरिएको छ। बजारमा माग बढ्न नसक्दा कारोबार र राजस्व दुवैमा दबाब परेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij