ताप्लेजुङ — भीषण वर्षासँगै शुक्रबार राति काबेली र इन्द्रावती खोलामा आएको बाढीका कारण ताप्लेजुङ र पाँचथर क्षेत्रमा सञ्चालनमा रहेका चार वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। बाढीले बाँध, इन्टेक, पाइपलाइन र विद्युत्गृहलगायतका संरचनामा क्षति पुर्याएपछि आयोजनाहरू बन्द भएका हुन्।
अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजना र त्यसकै १० मेगावाट क्षमताको क्यासकेट आयोजना प्रभावित बनेका छन्। कम्पनीका कर्मचारी लेखराज न्यौपानेका अनुसार बाढीले इन्टेक क्षेत्रमा ढुङ्गा, माटो, लेदो र काठ थुपारेपछि विद्युत् उत्पादन रोकिएको हो।
शनिबारदेखि खोलामा पानीको बहाव घट्न थालेपछि इन्टेक सफा गर्ने काम सुरु गरिएको भए पनि आयोजनाका अन्य संरचनामा समेत क्षति पुगेकाले पुनः सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने अनुमान गरिएको छ।
यस्तै, रिडी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना पनि बाढीका कारण बन्द भएको छ। आयोजनाका अनुसार बाँधस्थल र पाइपलाइनमा क्षति पुगेको छ भने पुनर्निर्माणपछि मात्रै उत्पादन सुचारु गर्न सकिने अवस्था रहेको छ। यसका लागि महिनौँ लाग्न सक्ने जनाइएको छ।
त्यसैगरी, इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावती खोलाबाट उत्पादन गर्दै आएको ९.७ मेगावाट क्षमताको आयोजना पनि पूर्ण रूपमा ठप्प भएको छ। कम्पनीका कर्मचारी मौसम सेलिङका अनुसार बाढीले बाँधस्थल, इन्टेक, पाइपलाइन र विद्युत्गृहमा गम्भीर क्षति पुर्याएको छ।
कम्पनीका अर्का कर्मचारी खेम न्यौपानेले मुख्य संरचनामा व्यापक क्षति पुगेकाले आयोजना पुनः सञ्चालनमा ल्याउन लामो समय लाग्ने बताए।
बाढीका कारण आयोजनाहरूमा पुगेको आर्थिक क्षतिको यकिन विवरण भने अझै संकलन भइरहेको प्रवर्द्धक कम्पनीहरूले बताएका छन्।