२०८३ साउन १२ मंगलबार

एकै दिन २७४ आरोही पुगे सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान कायम

ई आर्थिक    शुक्रबार, जेष्ठ ८ २०८३
2.2K
Shares
एकै दिन २७४ आरोही पुगे सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान कायम

काठमाडौँ । वसन्तकालीन आरोहण याम अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । यो सङ्ख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमै एकै दिन सगरमाथा आरोहण गर्ने अहिलेसम्मकै सर्वाधिक भएको पर्वतारोहण सञ्चालक सङ्घले जनाएको छ ।

सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वैशाख ३० गतेदेखि सगरमाथा आरोहणको बाटो खुलेपछि पछिल्लो एक सातामा १४० जना आरोहीले सफल आरोहण गरिसकेका थिए । बुधबार मात्रै थप २७४ जना आरोही शिखरमा पुगेसँगै नयाँ कीर्तिमान कायम भएको हो ।

उनले पछिल्लो दुई दिनयता हिमआँधीको वेग बढे पनि मौसम अनुकूल रहे आगामी एक साताभित्र अझ धेरै आरोही शिखरमा पुग्ने सम्भावना रहेको बताए । यस वर्ष सगरमाथामा सर्वाधिक आरोही पुग्ने नयाँ रेकर्ड बन्न सक्ने अनुमान गरिएको छ ।

सगरमाथासँगै अन्य हिमालमा पनि आरोहण जारी छ । सङ्घका अनुसार ल्होत्से हिमालमा ५० भन्दा बढी तथा नुप्से हिमालमा १६ जनाभन्दा बढी आरोहीले सफल आरोहण गरिसकेका छन् । यस वर्ष ल्होत्से आरोहणका लागि १४३ जना र नुप्से आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन आरोहण याममा सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन्, जुन हालसम्मकै उच्च सङ्ख्या हो । प्रत्येक आरोहीसँग सहयोगी शेर्पा रहने भएकाले यस याममा करिब एक हजार हाराहारी आरोही सगरमाथाको शिखरमा पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०२१ मा ४०८, सन् २०२२ मा ३२५, सन् २०२३ मा ४७८, सन् २०२४ मा ४२१ र सन् २०२५ मा ४५६ जनाले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार यस वर्ष नेपालसहित ५५ देशका आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट १०९ जना, अमेरिकाबाट ७७ जना, भारतबाट ६१ जना, बेलायतबाट ३२ जना, रसियाबाट १८ जना र जापानबाट १२ जना आरोही रहेका छन् ।

यस याममा पर्यटन विभागले छ हजार मिटरभन्दा माथिका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ । तीमध्ये सगरमाथामा ४९४, ल्होत्सेमा १४३, अमादब्लममा १११, मकालुमा ७२ तथा नुप्सेमा ५६ जनाले अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij