काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति बैंकिङ क्षेत्रका चार प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको बताएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो।
संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुलीका लागि बैंकलाई विशेष अधिकार दिएको जनाइएको छ। सो कार्य गर्नु सीइओको मुख्य जिम्मेवारी भएको संगठनहरूको तर्क छ।
‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा सञ्चालन हुने बैंकजस्ता संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउन सक्ने र समग्र वित्तीय स्थायित्वमै असर पर्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ।
संगठनहरूले अनुसन्धान प्रक्रियामा ‘पहिले सुन अनि थुन’ को सिद्धान्त अपनाउन आग्रह गर्दै पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
उनीहरूले बैंकको गरिमा तथा उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका नाममा हिरासतमा राख्नु आवश्यक नभएको पनि बताएका छन्।