काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी शुभकामना सन्देशमा महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको हित संरक्षण, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा आर्थिक गतिविधिको पुनरुत्थानमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सन्देशमा विशेषगरी दुग्ध तथा कृषिमा आधारित उद्योगको प्रवर्द्धन, उत्पादन वृद्धि, बजारीकरण, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रोत्साहनमा महासंघसँग सहकार्य गर्दै अघि बढ्ने अपेक्षा गरिएको उल्लेख छ। साथै, समयअनुसार डेरी क्षेत्रको आधुनिकीकरणमा समेत संयुक्त पहल आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्र लाखौं किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको र राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार क्षेत्र भएकाले यसको दिगो विकास, लगानी अभिवृद्धि, प्रविधि विस्तार तथा उत्पादनमुखी नीतिका लागि निजी क्षेत्र र महासंघबीच थप सशक्त सहकार्य आवश्यक रहेको धारणा राखेको छ।
एसोसिएसनले ‘स्वदेशी उत्पादन, आत्मनिर्भर अर्थतन्त्र र किसानमैत्री उद्योग’ अभियानलाई थप मजबुत बनाउन महासंघको नयाँ नेतृत्वसँग समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।
नवनिर्वाचित नेतृत्वले मुलुकको आर्थिक विकास, निजी क्षेत्रको सुदृढीकरण तथा उत्पादनमुखी उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि एसोसिएसनले व्यक्त गरेको छ।