काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन मा अधिवेशन बोलाइएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य द्वारा जारी विज्ञप्तिमा तोकिएको मिति र समयमा संसद् बैठक बस्ने उल्लेख गरिएको छ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले हालै विभिन्न आठ वटा अध्यादेश जारी गरेपछि ती अध्यादेशहरूलाई संसद्बाट अनुमोदन गराउन अधिवेशन बोलाइएको बताइएको छ।
