काठमाडौं : अमेरिकाले आगामी ६ देखि १२ महिनाभित्र जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार यसबारे जानकारी दिएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नेटो सहयोगी जर्मनीप्रति असन्तुष्टि जनाउँदै सेना फिर्ता गर्ने चेतावनी दिएका थिए। जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी नेतृत्व र इरान युद्धमा वासिङ्टनको रणनीतिबारे आलोचना गरेपछि ट्रम्पले यस्तो कदम चाल्ने संकेत दिएका थिए।
पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार युरोपमा अमेरिकी सैन्य अवस्थाको समग्र समीक्षा पछि यो निर्णय गरिएको हो। रक्षा मन्त्री पिट हेगसेथको निर्देशनमा उक्त प्रक्रिया अघि बढाइएको जनाइएको छ।
हाल जर्मनीमा करिब ३५ देखि ३६ हजार अमेरिकी सैनिक तैनाथ छन्। फिर्ता हुने सैनिक संख्या कुल तैनाथीको करिब १४ प्रतिशत हो। जर्मनीमा युरोपियन र अफ्रिका कमान्ड मुख्यालय, रामस्टीन एयर बेस र ल्यान्डस्टुहल मेडिकल सेन्टरजस्ता महत्वपूर्ण अमेरिकी सैन्य संरचनाहरू रहेका छन्।
यस निर्णयप्रति अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरू र विभिन्न नीति अनुसन्धान संस्थाहरूले आलोचना गरेका छन्। उनीहरूले यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने र अमेरिकी सुरक्षा हित कमजोर हुने बताएका छन्।
सिनेट सशस्त्र सेवा समितिका डेमोक्र्याट सिनेटर ज्याक रिडले सैनिक फिर्तीले अमेरिकी प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।
विश्लेषकहरूका अनुसार युरोपमा अमेरिकी सैन्य उपस्थितिले रुसको सम्भावित आक्रमणविरुद्ध प्रतिरोध मात्र होइन, मध्यपूर्व र अफ्रिकामा अमेरिकी प्रभाव विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि करिब ९,५०० सैनिक फिर्ता गर्ने योजना अघि सारेका थिए, तर त्यसलाई राष्ट्रपति जो बाइडेनले रोक लगाएका थिए।
हाल युरोपमा ८० हजारदेखि एक लाखसम्म अमेरिकी सैनिक तैनाथ रहेको अनुमान छ। ट्रम्पको पुनरागमनसँगै युरोपेली मुलुकहरू आफ्नो सुरक्षामा थप आत्मनिर्भर बन्नुपर्ने दबाबमा परेका छन्।