काठमाडौं: नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार पण्डित तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ।
विवरणअनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ। उक्त सम्पत्तिको स्रोत निजी आय, श्रीमतीको आम्दानी र बैंक ऋण रहेको उल्लेख गरिएको छ।
यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीकै नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने धनगढीमा आफ्नै नाममा करिब १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ।
परिवारतर्फ बुबा केशरीराज पण्डितका नाममा दमौली मा ११ रोपनी जग्गा रहेको छ भने आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको देखिएको छ। साथै आमाकै नाममा काठमाडौंको सामाखुशी मा साढे दुईतले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ।
व्यक्तिगत सम्पत्तिअन्तर्गत पण्डितले २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन्। यस सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन रहेको उल्लेख छ।
त्यस्तै, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको विवरणमा देखिएको छ। साथै विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ।
सरकारले उनलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नरमा नियुक्त गरेको हो।