काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको यो बैठक संघ र प्रदेश सरकारबीचका विविध विषयमा केन्द्रित रहनेछ। छलफल आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा संघ–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने, विकास आयोजनाहरूलाई तीव्रता दिने तथा उपलब्ध स्रोतसाधनको न्यायोचित बाँडफाँट सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिइनेछ। साथै प्रदेशहरूले सामना गरिरहेका प्रशासनिक तथा आर्थिक चुनौतीहरूको समाधान खोज्ने प्रयास पनि गरिने बताइएको छ।
यसका साथै राष्ट्रिय प्राथमिकताका योजनाहरू कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ बनाउने विषय छलफलको प्रमुख एजेण्डा रहनेछ। देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।
उक्त बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।