काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको छ। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्व जानकारी विना नै अस्पताल पुग्नुभएको हो।
अनुगमनका क्रममा उहाँले अस्पतालको सरसफाई, बिरामीको चाप तथा लामो लाइन (क्यू व्यवस्थापन), औषधि अभाव र स्वास्थ्य बीमामा देखिएका जटिलताबारे प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।
नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट तथा सामान्य औषधोपचारका लागि समेत घण्टौँ कुर्नुपर्ने समस्याप्रति मन्त्रीले चासो व्यक्त गर्नुभयो।
अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तत्काल निर्देशन दिँदै मन्त्रीले सरसफाईमा विशेष ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध हटाउन निर्देशन दिनुभएको छ।
“जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,” भन्दै उहाँले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।