गोपीकृष्ण न्यौपाने
एकातिर बैंक डिपोजिट निरन्तर बढीरहेको छ, लगानी गर्ने उपयुुक्त परियोजनाहरु छैनन्, बैकमा ठूला लोनको डिमाण्ड नै छैन।ग्राहकलाई डिपोजिटमा तिर्नुपर्ने व्याज भन्दा निकै न्यून ब्याजमा राष्ट्रबैंकले खिचिरहेको छ, यसको पनि सिमा पार हुन लागिसक्यो ।
अर्कोतिर बैंकहरुले जुन परियोजनाहरुमा लगानी गरेको छ, ती परियोजनाहरु राम्रोसंग संचालन हुन नसक्दा किस्ता तिर्न नसकेर बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ, लगानी गर्दा जोखिम तर्फ बैंकहरुले सतर्कता अप्नाउनुपरेको छ।
सहकारीमा बचत गरेका वचतकर्ताको हालत झनझन खराब भएर गएको छ, न्यूरोडका सटरहरु जो दशौं गुना सलामी दिएर किनबेच हुन्थ्यो अहिले टु-लेट लेखेका प्रसस्तै सटरहरु देखिन्छन्।
तीन खम्बे अर्थनीतिको एक खम्बा खिया लागेर ढल्न मात्रै बांकी छ। नक्कली ॠणी खडा गरेर आफैले सहकारीको बचत अपचलन गर्नेहरुलाई थुनामा राखेर सरकारी सिदा ख्वाएर राखेका छौं, आनन्दले बसेका छन्, बचतकर्ताको बिचल्ली ! यता जेन जी पुस्ताले आन्दोलन गर्नुभयो, परिवर्तन केही हुन सकेन, जुन हिसाबले सरकार गठन भयो, जुन हिसाबले मन्त्री नियुक्ति भए, जुन हिसाबले कामहरु भैरहेको छ, पक्कैपनि जेनजी पुस्ताले यस्तै चै चाहेको हैन होला । गत साउन देखि कार्तिक सम्म झण्डै ४३ अर्व रुपियाँ विद्यार्थीले अध्ययनको लागि भनेर बिदेश लगे, यही हिसाब झण्डै एक खर्व ५० करोड रुपियाँ बाहिर गैरहेको छ, जुन सजिलै रोक्न सकिन्थ्यो, कुनै पनि सरकारलाई यसमा चासो देखिएन ।
भ्रष्टाचार अति भयो, भ्रष्टचारीलाई कारबाही भएन भनेर जेन जी पुस्ताले आन्दोलन गरे, त्यति ठूलो जनधनको क्षति भयो, अन्तरिम सरकार गठन भयो, कम्तीमा अब भ्रष्टाचार हुन नदिन के के उपाय अबलम्बन गर्ने भनेर अहिलेसम्म केही न केही उपलब्धि आइसक्नु पर्थ्यो, सूसासन कसरी कायम गर्ने भन्ने एउटा खाका आउनुपर्थ्यो, तर यो सरकार पनि जेठो छोरो, कान्छी छोरी फकाउदैमा अलमलिरह्यो ।
मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन तोकिएका न्यूनतम सुधारहरु गर्नेतर्फ सुरसार नै देखिएन। फागुन २१ नजिकैदैछ, चुनाव हुने भनिएको छ, चुनाव हुने वातावरण बनाउन राजनीतिक दलहरु तयार छन् तर खुलेर प्रचारप्रसार गर्ने वातावरण सरकारले बनाउन सकिरहेको छैन, सम्मानित सर्वोच्च अदालतमा दायर भएका रिटको सुनुवाइ प्राथमिकता साथ गरेर निकास दिने कर्तव्य न्यायिक निकायको पनि हो, तर अदालती प्रक्रिया पनि धिमेगतिमा मात्रै अघि बढेको छ । यसरी राजनीतिक अस्थिरता भैरहंदा स्वदेशी तथा बिदेशी लगानीकर्ताहरु लगानी गर्न भन्दा भएको लगानी कसरी सूरक्षित गर्ने भनेर बचाउमा छन्, कतिले लगानी गर्नै लागेका परियोजना हरु समेत स्थगन गरेर “पर्ख र हेर” को स्थितिमा छन्।
यसो हुंदा रोजगारी पनि घटिरहेको छ र स्वरोजगार बन्ने वातावरण पनि छैन। बिग्रने क्रम सहकारी पछि अबको पालो माइक्रो फाइनान्स आउदैछ, त्यसको पनि नकारात्मक प्रभाव अर्थतन्त्रमा नै पर्नेछ। घरजग्गा कारोबारमा आएको मन्दी, शेयर बजारमा घट्दै गएको निरासा र कर तिर्नेलाई प्रोत्साहनको सट्टा निरुत्साहित गर्ने प्रवृत्तिले प्रत्यक्ष/परोक्ष रुपमा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्दैछ।
साना तथा मध्यम स्तरका व्यवसायीलाई बैंकिङ्ग जटिल प्रक्रिया र धितोको कारण लोन लिन सकस परेको तीतो यथार्थ पनि राष्ट्र बैकले बुझ्न सकेन। राजस्व संकलन पनि उत्साहजनक छैन, उठेको राजस्व पनि खर्च हुन सकिरहेको छैन, बिद्युत उत्पादन बढ्दै गएपनि बजारको सूनिश्चितताको जोखिममा छौं हामी।