काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई पूर्ण सम्मान गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पनि अपेक्षित नतिजा ल्याउन नसकेको उल्लेख गरेका हुन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यो निर्णय शिरोधार्य गर्नु आफ्नो कर्तव्य भएको उनले बताए।
ओलीले सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उनले बताए ।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको उनले स्पष्ट पारेका छन्।
ओलीले आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने बताएका छन्।