२०८३ साउन १० आइतबार

निर्वाचनसम्बन्धी इकाइहरू बन्द, आयोगद्वारा आभार व्यक्त

ई आर्थिक    बुधबार, फाल्गुन २७ २०८२
2.6K
Shares
निर्वाचनसम्बन्धी इकाइहरू बन्द, आयोगद्वारा आभार व्यक्त

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी स्थापना गरिएका विभिन्न निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरिएको छ। निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मतदान तथा मतगणना कार्य सम्पन्न भइसकेको सन्दर्भमा आयोगको २०८२ फागुन २६ गतेको निर्णयअनुसार फागुन २७ गतेदेखि लागू हुनेगरी ती इकाइहरू बन्द गरिएको जानकारी दिएको हो।

निर्वाचन आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न विशेष इकाइ तथा केन्द्र स्थापना गरेको थियो। सो क्रममा निर्वाचन प्रक्रियासम्बन्धी सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्न तथा सरोकारवाला निकायबीच समन्वय गर्न २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (EIDC) सञ्चालन गरिएको थियो।

त्यसैगरी मतदाता तथा सर्वसाधारणका निर्वाचनसम्बन्धी जिज्ञासा समाधान गर्न २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालन गरिएको थियो भने सुरक्षा निकायबीच सहकार्य र निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) सञ्चालनमा ल्याइएको थियो।

आयोगका अनुसार सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना (टक्सिक इन्फर्मेसन) पहिचान तथा विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको थियो। यस्तै विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडियो र पोस्टर गरी ७०४ सामग्री तयार गरी आयोगका डिजिटल प्लेटफर्ममार्फत प्रकाशन तथा प्रसारण गरेको थियो।

प्रेस अफिसले आयोगका गतिविधिबारे सूचना प्रवाह, सञ्चार माध्यमसँग समन्वय, प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण तथा आचारसंहिताविपरीत सामग्री पहिचान गरी कारबाहीका लागि सिफारिस गर्ने काम गरेको थियो। साथै मतदाता शिक्षासम्बन्धी सामग्री निर्माणसमेत गरेको आयोगले जनाएको छ।

त्यस्तै कल सेन्टरमार्फत मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा आम मतदाताबाट आएका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरिएको थियो।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीमा सुरक्षा समन्वय, ट्र्याकिङ, हवाई ढुवानी कार्ययोजना तयारी तथा कार्यान्वयन, मतदान केन्द्रसम्म सामग्री ढुवानीको निगरानी र निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण तथा प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न गरेको आयोगले जनाएको छ।

निर्वाचन अवधिभर समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा खटिएका विज्ञ र कर्मचारीहरूप्रति आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij