२०८३ साउन १२ मंगलबार

सोलुखुम्बुका युवालाई गाउँमै उद्यमी बनाउने कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीको संकल्प

ई आर्थिक    मंगलबार, फाल्गुन १२ २०८२
4.1K
Shares
सोलुखुम्बुका युवालाई गाउँमै उद्यमी बनाउने कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीको संकल्प

सोलुखुम्बु : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट युवा तथा सफल उद्यमी प्रकाशसिंह कार्की उम्मेदवार बनेका छन्। निर्वाचनको समय नजिकिदै गर्दा उनले युवालाई बेरोजगार होइन, गाउँमै उद्यमी बनाउने संकल्पसहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।

वि.सं. २०२० सालमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ मा जन्मिएका कार्की व्यवसाय, समाजसेवा र राजनीतिलाई समानान्तर रूपमा अघि बढाउँदै आएका छन्। समुन्नत सोलुखुम्बु र सम्मानित सोलुखुम्बुबासी निर्माण गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उनले बताएका छन्।

निर्वाचन अभियानका क्रममा कार्कीले जिल्लाका अधिकांश स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले स्थानीय समस्या, आशा र अपेक्षाबारे जानकारी लिएका छन्। मतदाताका मागलाई सम्मान गर्दै व्यवहारिक र सार्थक पहलमार्फत समाधान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

घरदैलो तथा चुनावी अभियानमा स्थानीयवासीको उल्लेखनीय उपस्थितिले आफू थप उत्साहित भएको कार्कीको भनाइ छ। “सोलुखुम्बुवासीप्रति म लगायत नेपाली कांग्रेस सोलुखुम्बु ऋणी छौं,” उनले भने। मतदाताबाट प्राप्त माया र सद्भावप्रति आभार व्यक्त गर्दै उनले भारी मतसहित विजयी हुने विश्वास व्यक्त गरेका छन्।

“अबको शिक्षा केवल पास हुने होइन, बजारमा बिक्ने खालको हुनुपर्छ,” कार्कीले भने। उनका अनुसार सोलुखुम्बुका प्रत्येक क्याम्पसमा उद्यम सिकाउने ‘इन्क्युबेसन सेन्टर’ स्थापना गर्ने र वडा–वडामा निःशुल्क वाइफाईसहित ‘कम्युनिटी हब’ निर्माण गर्ने स्पष्ट योजना रहेको छ। ‘नारा होइन, नीति र परियोजना’ उनको मुख्य चुनावी नारा रहेको छ।

उच्च माध्यमिक तहसम्म अध्ययन गरेका कार्कीले निजी क्षेत्रका छाता संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। आर्थिक तथा व्यवसायिक क्षेत्रबारे राम्रो जानकार मानिने उनी देशका अधिकांश जिल्लाको भौगोलिक तथा आर्थिक अवस्थाबारेका ज्ञाताकै रुपमा मानिन्छन् । व्यवसायिक तथा सामाजिक कार्यमा उल्लेख्य योगदान पु¥याए वापत उनले विभिन्न अवार्ड समेत हाता पारिसकेका छन् ।

व्यवसायिक शिलशिलामा उनले विकसित मुलुकका ‘विकासका मोडेल’समेत अध्ययन गर्ने अवसर पाएका छन्। प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि ती विकसित मुलुकका अनुभवलाई व्यवहारमा उतार्ने नीतिगत पहल गर्दै मुलुकको विकासको गतिलाई अगाडी बढाउने उनको योजना छ।

वि.सं. २०३५ सालमा नेपाल विद्यार्थी संघ बाट राजनीति सुरु गरेका कार्की २०४७ सालमा कांग्रेसको चाक्सीबारी सम्मेलनमा सोलुखुम्बुबाट प्रतिनिधि बनेका थिए। त्यसपछि सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको महासचिव, जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा उनले पार्टीमा काम गरेको अनुभव छ।

पर्यटन व्यवसायीसमेत रहेका कार्की नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। पार्टीको उद्योग तथा व्यापार विभागसँग सम्बद्ध उनी यसअघि प्रदेशसभा सदस्य पदका लागि पनि उम्मेदवार बनेका थिए। पार्टीभित्र लोकप्रिय पात्रका रूपमा परिचित कार्की यसपटक संघीय संसद् प्रवेशका लागि प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij