काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज साँझसम्म उपत्यका, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार यी स्थानमा बादल लाग्ने र हल्का मेघगर्जन पनि हुने अनुमान गरिएको छ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलले भने, “माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। तर पश्चिमी न्यूनचापीय रेखा क्रमशः कमजोर हुँदै जाने भएकाले आज साँझपछि मौसममा सुधार देखिनेछ।”
पोखरेलका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी र हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले तराईका केही क्षेत्रमा बिहीबार बिहानसम्म कुहिरो र हुस्सु लाग्ने सम्भावनाको समेत चेतावनी दिँदै सवारी साधन र हवाई उडानमा सतर्क रहन आग्रह गरेको छ।