२०८३ साउन १० आइतबार

महाशिवरात्रिमा पशुपतिनाथमा सशुल्क विशेष दर्शनको व्यवस्था, ११०० रुपैयाँमा छुट्टै लाइन

ई आर्थिक    बुधबार, माघ २८ २०८२
2K
Shares
महाशिवरात्रिमा पशुपतिनाथमा सशुल्क विशेष दर्शनको व्यवस्था, ११०० रुपैयाँमा छुट्टै लाइन

काठमाडौं : हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनलाई व्यवस्थित र सहज बनाउन यस वर्ष सशुल्क विशेष दर्शनको व्यवस्था गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले स्वदेशी तथा विदेशी भक्तजनको बढ्दो भीड व्यवस्थापन गर्ने उद्देश्यले १ हजार १ सय रुपैयाँको टिकटमार्फत विशेष दर्शनको सुविधा उपलब्ध गराउने निर्णय गरेको हो। कोषका सदस्य सचिव प्रकाशमणि शर्माका अनुसार मलेसिया, इन्डोनेसिया, श्रीलंका, भारतलगायत विभिन्न देशबाट आउने भक्तजनलाई लक्षित गरी यो व्यवस्था गरिएको हो।

यसअघि पनि सशुल्क दर्शनको अभ्यास हुँदा वार्षिक करिब ५० लाख रुपैयाँसम्म आम्दानी भएको कोषले जनाएको छ। यस पटक गौरीघाटमा टिकट काउन्टर स्थापना गरिनेछ भने सशुल्क पास लिने भक्तजनका लागि छुट्टै लाइनको व्यवस्था गरिनेछ।

हरेक वर्ष महाशिवरात्रिमा करिब १० लाख भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने गर्छन्। आगामी फागुन ३ गते परेको महाशिवरात्रिको तयारी तीव्र पारिएको छ। दाताको सहयोगमा मन्दिरमा रंगरोगन, फूल तथा बत्तीले सजावट भइरहेको कोषले जानकारी दिएको छ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार भक्तजनलाई सहज रूपमा दर्शन गराउन नौ वटा उपसमिति गठन गरिएको छ। मन्दिरभित्र र कोर क्षेत्रमा स्वयंसेवकलाई निषेध गरिनेछ भने आवश्यकताअनुसार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने तयारी छ।

सुरक्षा व्यवस्थाअन्तर्गत करिब आठ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। साथै, भीड व्यवस्थापनका लागि पाँच वटा आकाशे पुल र चार स्थानमा र्‍याम्प निर्माण गरिने भएको छ।

यस वर्ष भारतमा कुम्भ मेला नपरेकाले साधु सन्त तथा भक्तजनको भीड अझ बढ्ने अनुमान गरिएको छ। करिब चार हजार साधु सन्त सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूको आवास, भोजन तथा दक्षिणाको व्यवस्था कोषले मिलाउँदै आएको जनाएको छ।

कोषका पूर्व सदस्य सचिव डा‍. गोविन्द टण्डनले सशुल्क दर्शनको व्यवस्थाले कोषलाई आर्थिक रूपमा सबल बनाएको उल्लेख गर्दै यसलाई प्रभावकारी कदमका रूपमा मूल्यांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij