काठमाडौं । प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना सार्वजनिक भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीलाई लक्षित गर्दै लुटपाट गरिएको खुलेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा हवल्दार सुनार नै मुख्य योजनाकार रहेको तथ्य बाहिरिएको हो। नवलपरासीको कावासोती नगरपालिका–१३ घर भएका सुनारको योजनामा गत १४ माघको दिउँसो काठमाडौं महानगरपालिका–१४ घ्याङखेलमा उक्त लुटपाट भएको प्रहरीले जनाएको छ।
प्रकरणमा पक्राउ पर्नेहरूमा हवल्दार सुनारसहित रसुवाको नौकुण्ड गाउँपालिका–३ पार्चा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ बस्दै आएका ३२ वर्षीय विक्रम तामाङ, काभ्रेको रोशी गाउँपालिका–१० घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्दै आएका २७ वर्षीय दीपक आले मगर र नुवाकोटको ककनी गाउँपालिका–७ घर भई हाल तारकेश्वर–५ बस्दै आएका २८ वर्षीय जीवन तामाङ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दीपक आले मगरलाई १८ माघमा भक्तपुरको श्रृजनानगरबाट, जीवन तामाङ र विक्रम तामाङलाई सोही दिन काठमाडौं बाइपास क्षेत्रबाट पक्राउ गरिएको थियो। हवल्दार कर्णबहादुर सुनारलाई भने २० माघमा टेकुबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूबाट ९ लाख ४२ हजार रुपैयाँ नगद, ५ थान मोबाइल, ३ थान मोटरसाइकल र १३ थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीले अगाडि बढाएको छ।