काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउने क्रममा राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवालाहरूसँग छलफल गर्दै चेतावनी दिएको छ।
आयोगले निर्वाचनमा अनुगमन गर्दै पाएको तथ्याङ्कअनुसार केही राजनीतिक दल र उम्मेदवारहरूले प्रतिद्वन्द्वीमाथि अमर्यादित भाषा प्रयोग गरेका, घृणास्पद सामग्री डिजिटल माध्यमबाट प्रचार गरेका र मतदाताको गोपनियताको हक उल्लङ्घन गर्ने गतिविधि भएका छन्।
त्यस्तै, निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन गर्ने, भ्रमपूर्ण समाचार प्रकाशन गर्ने, मतदाता शिक्षामा कमी हुने र केही राजनीतिक दलका कार्यालयमा तोडफोड हुने घटनाहरू समेत आयोगले पत्ता लगाएको छ।
आयोगले सबै दल, उम्मेदवार र सम्बन्धित पक्षलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हक सुनिश्चित गर्न, हिंसात्मक गतिविधि बन्द गर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
डा. टीकाराम पोखरेल, प्रवक्ता/सहसचिव, आयोगले यस सम्बन्धमा सबै पक्षलाई सतर्क रहन अनुरोध गरेको बताएका छन्।