काठमाडौं – निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि अन्य केही सरकारी परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न सकिने जनाएको छ।
आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र प्राप्त नगरेका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान केन्द्रमा उपस्थित भएमा मत हाल्न पाउने छन्।
मतदाता नामावलीमा दर्ता भएका व्यक्तिले मतदानका लागि जाँदा सकेसम्म आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्ने भए पनि, परिचयपत्र नभएको अवस्थामा उल्लेखित सरकारी कागजातलाई वैकल्पिक प्रमाणका रूपमा स्वीकार गरिने आयोगले स्पष्ट पारेको छ।
निर्वाचनमा नागरिकको सहभागिता सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ।