२०८३ साउन १० आइतबार

चालु आवको ६ महिनामा आन्तरिक राजस्व पौने ६९ अर्बले बढ्यो

ई आर्थिक    मंगलबार, माघ १३ २०८२
1.9K
Shares
चालु आवको ६ महिनामा आन्तरिक राजस्व पौने ६९ अर्बले बढ्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पौने ६९ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ।

विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म दुई खर्ब ८२ अर्ब ३७ करोड ८८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा दुई खर्ब १३ अर्ब ६३ करोड ३२ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी रामबहादुर केसीका अनुसार चालु आवको ६ महिनामा ६८ अर्ब ७४ करोड ६६ लाख ६३ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो। यस अवधिमा विभागले कुल राजस्व संकलनमा ३.८५ प्रतिशत वृद्धि भएको जनाएको छ।

विभागले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उल्लेख्य वृद्धि भएको जनाएको छ। चालु आवको ६ महिनामा ७० अर्ब २० करोड ९३ लाख ६६ हजार रुपैयाँ भ्याट संकलन भएको छ, जुन गत आवको सोही अवधिको ६४ अर्ब ७४ करोड ६ लाख ६८ हजार रुपैयाँको तुलनामा ८.४२ प्रतिशत बढी हो।

यद्यपि आयकर संकलन भने घटेको छ। चालु आवमा एक खर्ब ३७ अर्ब ६४ करोड ४५ लाख ४० हजार रुपैयाँ आयकर संकलन भएको छ, जबकि गत आवमा एक खर्ब ३९ अर्ब १९ करोड ८७ लाख १९ हजार रुपैयाँ संकलन भएको थियो। यसले आयकर संकलनमा १.१२ प्रतिशत गिरावट देखाएको विभागको तथ्यांक छ।

यसैगरी अन्तःशुल्क करतर्फ चालु आवमा ६२ अर्ब ५८ करोड ६ लाख ४ हजार रुपैयाँ संकलन भएको छ, जुन गत आवको ५७ अर्ब ४७ करोड ५ लाख ८१ हजार रुपैयाँको तुलनामा ८.८९ प्रतिशतले बढी हो। अन्य कर शीर्षकअन्तर्गत चालु आवमा ११ अर्ब ९४ करोड ४३ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ, जुन गत आवको तुलनामा १३.८८ प्रतिशतले वृद्धि भएको हो।

सूचना अधिकारी केसीका अनुसार उपभोग्य वस्तु, लगानी र आयात बढेकाले मूल्य अभिवृद्धि करमा वृद्धि देखिएको हो। तर आर्थिक गतिविधि अपेक्षाकृत बढ्न नसक्दा आयकर संकलनमा वृद्धि हुन नसकेको उनले बताए।

आर्थिक गतिविधि विस्तारसँगै आयकर वृद्धि हुन सके रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा समेत सहयोग पुग्ने केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij