२०८३ साउन ११ सोमबार

प्रतिनिधिसभा निर्वाचनमा दर्जनौं पर्यटन व्यवसायी चुनाबी मैदानमा

ई आर्थिक    मंगलबार, माघ १३ २०८२
1.6K
Shares
प्रतिनिधिसभा निर्वाचनमा दर्जनौं पर्यटन व्यवसायी चुनाबी मैदानमा

ई–आर्थिक, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिकर्मीहरूसँगै पर्यटन व्यवसायीहरू पनि सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्। पुराना राजनीतिक दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारसम्म, पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध व्यक्तिहरू विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन्।

पर्यटन क्षेत्रको विकासका लागि कार्यान्वयनयोग्य योजना र व्यावसायिक अनुभवसहित जनमत जुटाउने उद्देश्यले उद्योगपति, होटल व्यवसायी, ट्राभल तथा ट्रेकिङ व्यवसायीदेखि हिमाल आरोहीसम्म उम्मेदवार बनेका छन्।

नेपाली कांग्रेसका नेता तथा बहुआयामिक लगानीकर्ता विनोद चौधरी नवलपरासी–१ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँ अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्याङ्जा–१ बाट पहिलो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ। त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला नेपाली कांग्रेसबाट धादिङ–२ मा उम्मेदवार बन्नुभएको छ भने पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ–१ बाट कांग्रेसकै उम्मेदवार हुनुहुन्छ।

नेपाली कांग्रेसबाटै गोरखा–१ मा प्रेम खत्री, मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन थकाली चुनावी प्रतिस्पर्धामा छन्। उद्योग, होटेल, निर्माण र ऊर्जा क्षेत्रमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ नेकपाका तर्फबाट बारा–४ मा उम्मेदवार बन्नुभएको छ।

यसैगरी, पर्यटन तथा ट्राभल व्यवसायमा आबद्ध भगीरथ सापकोटा नेकपा (एमाले) का तर्फबाट नवलपुर–१ बाट उम्मेदवार हुनुहुन्छ। होटेल व्यवसायी सुमन साय्मी नेकपाबाट काठमाडौँ–८ मा चुनाव लड्दै हुनुहुन्छ भने ट्राभल, ट्रेकिङ र होटेल व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डिपी अर्याल काठमाडौँ–९ बाट प्रतिस्पर्धामा हुनुहुन्छ।

हिमाल आरोही मिङ्मा शेर्पा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सङ्खुवासभामा निर्वाचन लड्ने तयारीमा रहनुभएको छ।

पर्यटन क्षेत्रको व्यावसायिक अनुभव बोकेका यी उम्मेदवारहरूको सहभागिताले आगामी निर्वाचनमा नीति, विकास र अर्थतन्त्रसम्बन्धी बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij