२०८३ भाद्र २६ शुक्रबार

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण, अब सातामा चार दिन उडान

ई आर्थिक    शुक्रबार, भाद्र २६ २०८३
285
Shares
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण, अब सातामा चार दिन उडान

दाङ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि पुनः जहाज अवतरण गरेको छ। मौसमका कारण लामो समयदेखि अनियमित बनेको दाङ–काठमाडौं हवाई सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार नेपाल वायुसेवाको १९ सिटे जहाजले डेढ महिनापछि टरिगाउँ विमानस्थलमा अवतरण गरेको हो।

बिहीबारको उडानमा काठमाडौंका लागि ८ जना यात्रु र दाङबाट काठमाडौं जाने क्रममा ४ जना यात्रुले हवाई सेवा लिएका थिए।

वरिष्ठ अधिकृत भुसालले अब दाङ–काठमाडौं हवाई सेवा नियमित हुने बताए। उनका अनुसार अब हप्तामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी चार दिन उडान सञ्चालन हुनेछ।

हवाई सेवा बिहान ९ बजेदेखि ११ बजेको बीचमा उपलब्ध हुने र हाल हवाई भाडा करिब १२ हजार रुपैयाँ रहेको उनले जानकारी दिए।

७५० मिटर मात्रै धावनमार्ग

टरिगाउँ विमानस्थलको धावनमार्ग हाल ७५० मिटर मात्रै लामो छ। छोटो धावनमार्गका कारण यहाँ १९ सिटे जहाज मात्रै सञ्चालन गर्न सकिने अवस्था छ।

सानो क्षमताको जहाज सञ्चालन हुनुका साथै मौसमका कारण उडानसमेत अनियमित हुने भएकाले दाङसहित आसपासका क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा विमानस्थल पुग्नुपर्ने बाध्यतामा छन्।

टरिगाउँ विमानस्थलमा ठूला जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तार गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको भए पनि अहिलेसम्म त्यसले अपेक्षित गति लिन सकेको छैन।

विसं २०११ मा स्थापना भएको टरिगाउँ विमानस्थल हालसम्म अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। चालु आर्थिक वर्षमा भने विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

विमानस्थलको स्तरोन्नति र धावनमार्ग विस्तार भएमा दाङबाट काठमाडौंलगायतका गन्तव्यमा हवाई सेवा थप सहज र नियमित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij