ई–आर्थिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक छनोट प्रक्रियामा कानुनी विवाद देखिएको छ। निगमको महाप्रबन्धक पदका लागि अयोग्य ठहरिने दुई जना बहालवाला कर्मचारीसमेत छनोट समितिले ‘सर्टलिस्ट’ मा समावेश गरेको खुलेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि गत ४ माघमा १० जनाको नाम सर्टलिस्ट गरेको थियो। तर सर्टलिस्टमा परेका निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वार्चन र ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल कानुनी रूपमा महाप्रबन्धक पदका लागि अयोग्य रहेको देखिएको छ।
नेपाल वायुसेवा निगम ऐन, २०२९ को दफा ८ अनुसार महाप्रबन्धक बाहेक निगमका कुनै पनि कर्मचारी वा सल्लाहकार महाप्रबन्धक बन्न अयोग्य हुने स्पष्ट व्यवस्था छ। ऐनको यही प्रावधानविपरीत छनोट समितिले निगमकै बहालवाला कर्मचारीलाई प्रतिस्पर्धामा सर्टलिस्ट गरेको भन्दै प्रश्न उठेको हो।
क्याप्टेन ज्वार्चन यसअघि निगमको अपरेसन डिपार्टमेन्ट प्रमुखका रूपमा समेत कार्यरत थिए। कुल १६ जनाले आवेदन दिएकोमा नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ अनुसार रीतपूर्वक आवेदन दिने १० जनाको नाम सर्टलिस्ट गरिएको पर्यटन मन्त्रालयले जनाएको थियो। तर निगमका दुई कर्मचारीको हकमा भने कानुनविपरीत छनोट गरिएको पुष्टि भएको छ।
यी दुई बाहेक उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत पनि सर्टलिस्टमा परेका छन्।
सर्टलिस्टमा परेका उम्मेदवारको १४ र १५ माघमा कार्ययोजना प्रस्तुतिको कार्यक्रम तय गरिएको छ। कार्ययोजना प्रस्तुतिपछि छनोट समितिले तीन जनाको नाम महाप्रबन्धक नियुक्तिका लागि सिफारिस गर्नेछ।
महाप्रबन्धक युवराज अधिकारीको कार्यकाल सकिएपछि हाल निगम नेतृत्वविहीन अवस्थामा छ। पर्यटन मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक चरणमा अनुभव, योग्यता र उमेरका आधारमा मात्रै सर्टलिस्ट गरिएको र अन्तिम नियुक्ति गर्दा नेपाल वायुसेवा निगम ऐन तथा प्रचलित कानुनअनुसार नै सिफारिस गरिने बताइएको छ।