ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गरिने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भंगाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुनेछ। फिडरको लोड व्यवस्थापन तथा नयाँ पासिकोट फिडर निर्माणका क्रममा ब्रेकर जडान र भूमिगत तार चार्ज गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाइएको छ।
सूचना अनुसार गणेशस्थान फिडर अन्तर्गत आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यस्तै भंगाल फिडर अन्तर्गत तल्लो भंगाल, धोविखोला करिडोरलगायतका क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली आपूर्ति अवरुद्ध हुनेछ।
यसैगरी शिवपुरी फिडर अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायतका क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
तोकिएको कार्य समयभन्दा अगावै सम्पन्न भएमा उल्लेखित समयभन्दा पहिल्यै विद्युत् आपूर्ति पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ।