काठमाडौं : काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए। घाइतेमध्ये गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या ५ पुगेको हो।
यसअघि बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो।
प्रहरीका अनुसार नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरू सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका यात्रुहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।