२०८३ साउन १० आइतबार

ऐतिहासिक गढी–किल्लाको संरक्षणका लागि उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पाँचदिने पदयात्रा

ई आर्थिक    बिहिबार, पौस २४ २०८२
855
Shares
ऐतिहासिक गढी–किल्लाको संरक्षणका लागि उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पाँचदिने पदयात्रा

गाईघाट । ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पाँचदिने पदयात्रा सुरु गरेको छ। गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणको आयोजनामा उक्त पदयात्रा सुरु गरिएको हो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २३ देखि २७ गतेसम्म सञ्चालन हुने पदयात्रा उदयपुर जिल्लाका दुई फरक ऐतिहासिक स्थल उदयपुरगढी र चौदण्डीगढीलाई जोड्ने करिब ८५ किलोमिटर लामो महाभारत पहाडी क्षेत्र हुँदै अघि बढ्नेछ।

उदयपुरगढीमा आयोजित उद्घाटन समारोहमा नेपाली सेना पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले गढी र किल्लाहरू ढुंगा–माटोको संरचना मात्र नभई राष्ट्रिय स्वाधीनता जोगाउन पुर्खाहरूले गरेको त्याग र बलिदानको प्रतीक भएको बताए।

उनले ऐतिहासिक गढीहरूको संरक्षण तथा संवर्धनप्रति जनचेतना फैलाउने, पुर्खाहरूको गौरवपूर्ण इतिहास खोज–अनुसन्धान गरी भावी पुस्ताका लागि लिपिबद्ध गर्ने तथा युवा पुस्तामा राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताप्रतिको भावना सुदृढ बनाउने उद्देश्य पदयात्राको रहेको स्पष्ट पारे।

राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा आयोजना गरिएको पदयात्राको नेतृत्व पशुपतिप्रसाद गणका सहायक सेनानी डिल्लीदास श्रेष्ठले गर्नेछन्। सो अवसरमा पृतनापति केसीले उनलाई राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा हस्तान्तरण गरे।

कार्यक्रममा पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोजकुमार कार्कीले पदयात्रामार्फत जनचेतना अभिवृद्धि गर्ने, उदयपुरगढी र चौदण्डीगढीका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा टेवा पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको जानकारी गराए।

उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, उदयपुरगढी र रौतामाई गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij