मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परेका सबै छ जनाको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। पहिचान नखुलेका अन्दाजी ३६ र ४० वर्षीय दुई पुरुषलाई शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा अस्पताल ल्याइए पनि आइतबार साँझ १९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा भारत बिहार राज्य पटनाका ४२ वर्षीय रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन्।
दुर्घटनामा घाइते भएका तीन जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। घाइते हुनेमा सुमो चालक हेटौँडा–४ कर्रा चोकका अन्दाजी ४५ वर्षीय गणेश थापा, हेटौँडा–४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरी रहेका छन्।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत जुरिखेतमा दुर्घटना भएको हो। प्रहरीका अनुसार सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्छ।