काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ ।
टेलिकमका अनुसार अब वाइफाई ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिनेछ । यसअघि प्रयोग हुँदै आएको वाइफाई ५ प्रविधिको सीपीईको सट्टा अब वाइफाई ६ प्रविधिको सीपीईसँगै पहिलो पटक एपी समेत उपलब्ध गराइनेछ ।
नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुनुका साथै इन्टरनेट स्पिडमा उल्लेख्य सुधार आउने टेलिकमले जनाएको छ । यसले एकै समयमा धेरै डिभाइस जडान गर्न, सबै प्रयोगकर्ताले पूर्ण गतिको इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ ।
ग्राहकहरूका लागि वाइफाई ६ इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट तथा टेलिफोन, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन मध्ये छनोट गर्न सकिनेछ । प्रिमियम प्याकेजअन्तर्गत प्रिमियम इन्टरनेट मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेज उपलब्ध हुनेछन् ।
यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुने र मोबाइल डाटा समेत समावेश हुने नेपाल टेलिकमले जनाएको छ ।
वाइफाई ६ सीपीई, एपी, एफटीटीएचको नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट, ‘नेपाल टेलिकम’ एप, १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट लिन सकिने जनाइएको छ ।