ई-आर्थिक, काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको बाँकी महशुल तिर्ने दोस्रो किस्ता भुक्तानीको समय आए पनि २४ वटा उद्योगले अझै रकम नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार दोस्रो किस्ता बुझाउन आग्रह गर्दै गत आइतबार उद्योगहरूलाई औपचारिक रूपमा पत्र पठाइएको थियो। तर, पत्राचारपछि पनि सम्बन्धित उद्योगहरू भुक्तानीका लागि सम्पर्कमा नआएको जानकारी दियो ।
समयसीमा नजिकिँदै जाँदा समेत उद्योगहरूको बेवास्ता देखिएपछि प्राधिकरणले पुनः स्मरण गराउने पत्र पठाउने तयारी गरेको छ। प्राधिकरणले तोकिएको समयभित्र रकम नबुझाए कडाइ गर्ने चेतावनीसमेत दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार उद्योगलाई दोस्रो किस्ता तिर्न स्पष्ट रूपमा आग्रह गरिएको छ। उनका अनुसार पुनः पठाइने पत्रपछि पनि उद्योगहरू भुक्तानीमा नआएमा जुनसुकै बेला विद्युत् आपूर्ति काट्न सकिने व्यवस्था लागू हुन सक्छ।
प्राधिकरणले पत्रमार्फत नै भुक्तानी नगरेमा अपनाइने कारबाहीबारे उद्योगहरूलाई जानकारी गराइसकेको जनाएको छ।