काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख तथा संघीय संसदअन्तर्गत अर्थ समितिका पूर्वसभापति सन्तोष चालिसेविरुद्ध करिब साढे तीन करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार चालिसेले २०७४ साल जेठ ८ गतेदेखि २०७९ साल असार मसान्तसम्म नगर प्रमुखको हैसियतमा रहँदा वैधानिक आयभन्दा अत्यधिक खर्च तथा लगानी गरी रु. ३ करोड ६८लाख ४७ हजार ७६१।७१ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको पाइएको छ।
अख्तियारले गरेको अनुसन्धानमा चालिसे र उनका एकाघर परिवारले सो अवधिमा जम्मा रु. ४ करोड ८८लाख ३५ हजार८३३।६२ वैधानिक आय आर्जन गरेको देखिए पनि घर निर्माण, जग्गा खरिद, शेयर लगानी, सहकारी तथा बैंक कर्जा भुक्तानी, सवारी साधन, बीमा, व्यवसायिक लगानी लगायतका शीर्षकमा रु. ८ करोड ५६लाख ८३हजार ५९५।३३ बराबरको खर्च तथा लगानी गरेको देखिएको छ।
कुल आयभन्दा कुल खर्च अत्यधिक देखिनुका साथै प्रस्तुत गरिएका कागजातहरू अमिल्दा, अस्वाभाविक र पछि खडा गरिएको देखिएको अख्तियारको निष्कर्ष छ। साथै, चालिसेले वैधानिक आयको तुलनामा अत्यधिक उच्च जीवनस्तर यापन गरेको पनि अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको माग गरेको छ। साथै, सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुट्टा विवरण पेस गरेको अभियोगमा थप सजायको माग पनि गरिएको छ।
यसै मुद्दामा चालिसेका श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई गैरकानुनी सम्पत्तिबाट खरिद वा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण नबुझाएको आरोपमा चालिसेमाथि जरिवाना असुल उपरका लागि गोकर्णेश्वर नगरपालिकालाई पत्राचार गरिने अख्तियारले जनाएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको उल्लेख छ।