२०८३ साउन ९ शनिबार

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

ई आर्थिक    आइतबार, मंसिर २८ २०८२
2.1K
Shares
गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

ई–आर्थिक, काठमाडौं । जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।

आइतबार बिहान अर्थमन्त्रालयमा जेन–जी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा तत्कालीन सरकारले नेपाल राष्ट्र बैंक ऐनको उल्लङ्घन गर्दै स्वार्थ समूहको दबाबमा डा. पौडेललाई गभर्नर नियुक्त गरेको दाबी गरिएको छ।

संयोजक परियारका अनुसार सरकारले गठन गरेको सिफारिस समितिले आफ्नो अख्तियारीको दुरुपयोग गर्दै ऐनमा व्यवस्था भएविपरीत पौडेललाई गभर्नरमा सिफारिस गरेको छ। उनले राष्ट्र बैंक ऐनअनुसार गभर्नर हटाई नयाँ गभर्नर नियुक्त गर्न सरकारसँग माग गरे।

ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क), (ख) र (ग) अनुसार आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति वा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। तर, उक्त व्यवस्थाविपरीत डा. पौडेललाई सिफारिस गरिएको जेन–जी युनाइटेडको आरोप छ।

त्यसैगरी डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक तथा कृषिमा स्नात्तकोत्तर अध्ययन गरेको भए पनि आर्थिक तथा मौद्रिक क्षेत्रको आवश्यक अनुभव नपुगेको भन्दै उनको नियुक्ति ऐनविपरीत भएको परियारले बताए।

ज्ञापनपत्रमार्फत जेन–जी युनाइटेडले अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, अनाधिकृत रूपमा लिइएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई थप जिम्मेवार बनाउनुपर्ने र वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्ने लगायतका मागसमेत अघि सारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij