काठमाडौं । मनसुन सकिएपछि हवाई यात्रामा बढेको चहलपहलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आय र यात्रु संख्या दुवैमा उल्लेखनीय वृद्धि भएको छ। साउनदेखि कात्तिकसम्म निगमले ५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ।
निगमका हालसालै सार्वजनिक तथ्यांकअनुसार साउनमा १ अर्ब ६ करोड रुपैयाँबाट सुरु भएको मासिक आम्दानी कात्तिकमा १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जसले हवाई बजार पुनः सक्रिय बन्दै गएको संकेत गर्छ।
यात्रु संख्या पनि समान रूपमा बढेको छ। साउनमा ५१ हजार १४७ यात्रुलाई सेवा दिएको निगमले कात्तिकमा संख्या बढाएर ५९ हजार ६ पुर्याएको छ। चाडपर्वको यात्रु चापले यो वृद्धि थप बलियो बनेको देखिन्छ। चार महिनामा गरी २ लाख १६ हजार ४२२ यात्रुले निगमका उडान प्रयोग गरेका छन्।
राजस्व संरचनाले निगमको आम्दानी अझै अन्तर्राष्ट्रिय उडानमै निर्भर रहेको देखाएको छ। कुल आम्दानीमध्ये आन्तरिक उडानको हिस्सा ०.३८ प्रतिशत मात्र बनेको छ, जसअनुसार आन्तरिक सेवा–सञ्चालनबाट जम्मा २ करोड २३ लाख रुपैयाँ आम्दानी भएको छ।
अन्तर्राष्ट्रिय बजारमा काठमाडौं–नारिता, दोहा, दुबई, क्वालालम्पुर र दिल्लीलाई सर्वाधिक लाभदायक रुट मानिएको छ। विपरीत रूपमा मुम्बई, बैङ्गलुरु र दमाम कम आय दिने मार्ग छन्।
हाल निगमले जापान, बैंकक, मलेसिया, हङकङ, भारतका विभिन्न शहर, दोहा, दुबई र दमाममा नियमित सेवा दिइरहेको छ, जसबाट मासिक ५ करोडदेखि ३० करोड रुपैयाँसम्म आम्दानी भइरहेको बताइन्छ। वैदेशिक रोजगार तथा पर्यटन आवागमन निरन्तर सक्रिय रहनु आय वृद्धि कायम रहने मुख्य आधार बनेको निगमको मूल्यांकन छ।